prativa

prativa

Wel-come

wel-come to my blog

Thursday, August 11, 2011

दुई जनाले हतार गरी अलमल गर्यौ की सुहागरातमा !
आउलो नलाई बत्ती बाली झलमल गर्यौ की सुहागरातमा !!
मुटुको धड़कन बढ्यो होला यौवन को पारो चढ्यो होला ,
खापेरै नबसी हतार गरी सलबल गर्यौ की सुहागरातमा !
अंग अंग काउकुति लागी नशा नशा फूल्यो होला ,
उत्ताउली भई चुलबुल गरी चलमल गर्यौ की सुहागरातमा !
ओठले ओठलाई डसी, चुपचाप लागेरै बसी ,
ऐया-ऐया आत्थु-आत्थु खलबल गर्यौ की सुहागरातमा !!
त्यों त केवल सुरुवात थियो , अझ धेरै के के गर्यौ ,
न्वारण देखिको बल लगाएर चलमल गर्यौ की सुहागरातमा !!!

Monday, July 25, 2011

िकन ?

आखामा एउटा नाम अौठीमा अर्को नाम जप्छन् िकन कोही कोही ?www.bulsonlive.com


Sunday, July 24, 2011

सिंदूर लत्पत छ कज्जल पुछ प्यारी !
अल्छि हटाई अब केश सम्हाल सारी !!

शोभा बिहीन भई चन्द्र पनि बिलाए,
उठौ की अब ता कुखुरा कराए !

होला पियारी कहिल्यै पछि पूर्ण धोका ,
आटि मसक्क उठ सुस्त उघार ढोका !

वेर भो छिमेकीहरूले पनि चाल पाए,
उठौ की अब ता कुखुरा कराए !!!

रेग्मी जी को "कुखुरा कराए"

Monday, July 18, 2011

मलाई थाछ मायाले, रोगी बनाउछ.

सधैभरि जवानीको, भोगी बनाउछ..

भुलेर नि माया भनि, बिस्वाश नगर्नुस्.

नत्र फेरी त्यै मायाले, जोगी बनाउछ...

Saturday, May 28, 2011

बसन्तको वहार दिन्छु तिमी हाँस्ने भए
बिहानीको प्रहर दिन्छु आउ नाच्ने भए ।

डाँफे चरी घुम्ने डुल्ने देउराली हाम्रै
खुशीयाली शहर दिन्छु सधैँ साँच्ने भए ।

हराभरा बालीनाली हरियाली सुक्दा
आफैँ नहर बनी दिन्छु तिमी बाँच्ने भए ।

भुलाउदै दु:ख पीर अतीतका ब्यथा
बरु खान्थें जहर पनि दुख मास्ने भए ।

दुख्न दिन्न मन तिम्रो ममताले भरि
सम्बन्धको लहर दिन्छु नाता गाँस्ने भए ।

Sunday, May 22, 2011

यही देशको मान्छे म त, साँचो बोल्दा कायल भएँ

ध्रुव सत्य खोज्दा खोज्दै, यै माटोमा घायल भएँ,

जसले पनि घाट्मा पुग्दा, नाङ्गै आ'को भन्छन यहाँ

आफ्नो सत्य के हो कुन्नी ! दर्ता न'भा फायल भएँ,

जीवन यो छामी हेर्छु, आफै घर न घाट्को देख्छु

सबले भूईँमा कुल्ची हिड्ने, टाँसिएको टायल भएँ,

आकाशको पानी जस्तै, न भूईँको न पातको हुँदा

सास बन्द भा'को थोत्रो घडीको म डायल भएँ,

जसरी नि, आफैलाई चाहिया'छ पाउने जति

लाजले होला, छोपिएर हिड्नु पर्ने पायल भएँ,

सबले चाहे टुक्रिएर बाँडिन म कहाँ सक्थेँ?!

रैकर नै भएर त यौटै घरको खायल भएँ ।।


सधैँ प्रयोग नहुने शब्दहरु भएकोले अर्थ :
खायल = एक घरले चलन गरेको जमीन
डायल‍ = घडीमा घण्टा मिनेट लेखिएको चक्का
फायल = फाईल
कालो बादल हटेपछी घाम लाग्छ दाजु

देशमा बगाउ पसिना काम लाग्छ दाजु

पौरखी छौ त्यही माटोमा परिश्रम गर

तिम्रो मुखमा सधैं भरी माम लाग्छ दाजु

पुर्खाले रचेको ईतिहास कायम राख

स्वाभिमानी नेपालीको नाम लाग्छ दाजु

सधै भरी रावाण राज मात्रा चल्ने छैन

विश्वास गर एक दिन राम लाग्छ दाजु ।

Saturday, May 21, 2011

आउ अब मलाई लिन पर्खिएको धेरै भो !
नचिने झैँ गरेर तीमी, तर्किएको धेरै भो !!
माया गरि तिम्लाई मैले बोलाउदा पनि त !
रिसाउदै बिना कारण झर्किएको धेरै भो !!
बेर छैन टुक्रिन अब मुटु मेरो कोमलो !!
धुजा धुजा हजारौ ठाउँ चर्किएको धेरै भो !!
पुग्यो अब सबको माया, देखावटी पिरती !
कठै भन्दै घाउमा नून छर्किएको धेरै भो !!
जता हेर्छु मुहार तिम्रै, सुन्छु तिम्रै आवाज !
बोलायौ कि तिमीले भन्दै फर्किएको धेरै भो !!

Monday, May 16, 2011

नाता गाँसी पीर ब्यथा हर्न मन लाग्यो
दु:ख बुझ्न तिम्रै मनमा सर्न मन लाग्यो.

नयनले तिम्रो समीप हुन खोज्दा सधैं
तिम्रै हातले खाली सिउदो भर्न मन लाग्यो.

रगत कुद्ने नसा नसा तिम्रै याद छाउदा
समाज भुली तिम्रै काख पर्न मन लाग्यो.

जस्तो सुकै सागर तर्थें तिम्रो साथ पाए
जीवन सागर तिमीसँगै तर्न मन लाग्यो.

के को जात खोज्नु पर्छ मन मिले पछि
तिम्रै साथ युगौं बाँची मर्न मन लाग्यो...

Friday, April 08, 2011

गाउँले ठिटो शहर पस्यो गाडी देख्दा फुरुंगै
तरुनीका पिडौला र नाडी देख्दा फुरुंगै

पिसाब च्यापी रन्थनिदै भिडमा हिंड्ने बटुवा
अलि पर एकान्तमा झाडी देख्दा फुरुंगै

गोठ सारी बेंसी झारी खेती खेप्या राँगोले
फर्केको दिन गोठभित्र पाडी देख्दा फुरुंगै

लोग्ने स्वास्नीको झगडा परालकै आगो हो
भोलिपल्ट नयाँ झिल्के साडी देख्दा फुरुंगै

पैलो चोटी ससुराली जाँदा खेरि लफंगो
साली ज्यूले ओछ्याएको राडी देख्दा फुरुंगै

दिनभरी काम छैन जुम्रा हेर्ने बुहारी
सासूज्यूको टाउकामा ढाडी देख्दा फुरुंगै
गोप्य पत्र पठाको थेँ सुनाएछौ सबैलाई ।
कोमल तिम्रा रुपरङ्ग चुनाएछौ सबैलाई ।

मानेकोथेँ मनकीरानी बिग्रिएछ आनीबानी,
मलाई मात्र कहाँ हुनु गुनाएछौ सबैलाई ।

बोलाउँदा मैना चरी चलाउँदा नैना परी,
मनमुटु च्यातिदिंदै तुनाएछौ सबैलाई ।

जिन्दगानी तान्नेडोरी पिरतीमा हुन्छ भन्दै,
मायामा नै फस्ने पासो बुनाएछौ सबैलाई ।

मन दिँदै मुटु लिँदै हिँन्ने बाँनी पर्यो तिम्रो,
तीरमा माया झिरमा मुटु उनाएछौ सबैलाई ।
सम्झिदैँछु विगतका उत्ताउला रात कति
चिसो चिसो मौसमको उत्ताउला साथ कति

मौन थियौ तिमी पनि आँखा आँखा जुधाएर
बोलिरहे नजरले उत्ताउला बात कति

पोखिएर अङ्गालोमा भुल्न खोज्थेँ लाजहरू
सर्माएर छेक्थ्यौ तिमी उत्ताउला हात कति

शीत बनी झर्थ्यौ तिमी पग्लिएर शिशिरमा
पढेकोथेँ चुमेर नै उत्ताउला मात कति ।।
'तिमीसँग माया लाउनु मेरो ठुलै भुल' भनिन्
सारै चित्त दुखेको थ्यो 'आज अप्रिल फुल' भनिन्

बोलाए झैँ लाग्यो उनले सारा काम छोडी दौडेँ
छेउ पुगेँ निद्रा लाग्यो 'टाँगिदेऊ न झुल' भनिन्

पैले रोजै भन्ने गर्थिन् 'आँखाभित्र राखेकी छु'
आज 'आँखा बिझाउने कसिंगर र धुल' भनिन् ।

Thursday, April 07, 2011

जोडीँदैथ्यो साईनो हाम्रो चर्किएर गयौ कता
प्रेम भावले बोलाए'थेँ झर्किएर गयौ कता।

के मा चित्त बुझेन र छेड हान्छौ घरि घरी
बाट्दै थिएँ डोरी मनको सर्किएर गयौ कता।

फाल्न मैले चाहेको'थेँ पखालेर मन्को मैलो
सामिप्यता दिन खोज्दा तर्किएर गयौ कता।

शुन्य लाग्छ संसार नै निराशा ले छाइदिँदा
आउँछु भन्थ्यौ जून लिइ फर्किएर गयौ कता।

शालिन थियो मुहार अनी बोली माधुर्यता
यौबनको मादक प्याला छर्किएर गयौ कता।

Tuesday, April 05, 2011

चुह्यो होला घरको छानो टाल्नलाई आउँछु प्यारी ।
जेलिएको रिणको जालो फाल्नलाई आउँछु प्यारी ।।

मन पारी अन्धकार , बस्याहौली न्यास्रिएर।
माझेरीमा साँझमा दियो बाल्नलाई आउँछु प्यारी ।।

बाँजो होला गैरी खेत , खहरेको मुहान सुक्दा ।
खनी कुलो खेमा पानी, हाल्नलाई आउँछु प्यारी ।।

ईमान बेची सपना किन्दै , थाकीसके पराई देशमा ।
आफ्नै देशमा माटो ढुङ्गो , चाल्नलाई आउँछु प्यारी ।।

चुह्यो होला घरको छानो टाल्नलाई आउँछु प्यारी ।
जेलिएको रिणको जालो फाल्नलाई आउँछु प्यारी ।।
तिम्रो ओठमा मेरो ओठ जोड़्न कहिले दिने !

साँची राख्या सतित्वोलाई तोड्न कहिले दिने !!

जाडो पानी हट्या छैन शीरक ततायर ,

संगै बेरी नान्यो शीरक ओढ़न कहिले दिने !

बिजुलीको झट्का सरी अंग प्रत्यांगामा ,

चूमी चूमी कम्प बाण छोड़न कहिले दिने !

लिप्त भई नागबेली कहिले बाहुपासमा ,

कहिले तल कहिले माथि मोड़न कहिले दिने !

मलाई माली बनाउदै ख़ुशी सुम्पियर ,

पुरुषता को रस छोड़दै गोडन कहिले दिने !!

Friday, March 25, 2011

घामले पोल्छ जुनले नि पोल्छ

आँखामा धुलो छरेर गईन्
पराइको डोली चडेर गईन्

बिश्वास झुटो दिएर मलाई
सात खोली आफु तरेर गईन्

निर्दोषी मलाई दोषी गराई
बदनाम मेरो गरेर गईन्

अमृतजस्तो संम्बन्ध थियो
विषले झोली भरेर गइन्

घामले पोल्छ जुनले नि पोल्छ
सुख र चैन हरेर गइन् !

बास माग्न आएँ

तिम्रो घरको आगनीमा बास माग्न आएँ
अलिकति तिम्ले फेर्ने सास माग्न आएँ ,

बाँचे पनि जिन्दगी यो मरे तुल्य भयो
तिम्ले बाँच्न लुकाएको आश माग्न आएँ,

घरै आई माग्दा तिमी डरायौ कि कतै
थोरै दिए पुग्थ्यो,कहाँ राश माग्न आएँ ?

कतै सुन्छु बिछोड नि जिन्दगी मै पर्छ
जिन्दगीको अर्थ के हो खास माग्न आएँ

छुटाएर जलाउन पाए पनि हुन्थ्यो
बन्दकीमा लुकाएको लाश माग्न आएँ ।।

Monday, February 21, 2011

जिन्दगीका पाटाहरु बल्झिए

दुखेँ घाउसितै खाटाहरु बल्झिए
आज जिन्दगीका पाटाहरु बल्झिए

नापेको थेँ धेरै दुरी पैतालाले
यात्राका ति तिनै बाटाहरु बल्झिए

कतै चोखो भएँ कतै जुठो भएँ
दाग बेहोसीका टाटाहरु बल्झिए

धुजा धुजा भई च्यातिनु त रै’छ
चिरफार पछि फाटाहरु बल्झिए

न त रह्यो मेरो कुनै सेरोफेरो
आफ्नै आँगनका माटाहरु बल्झिए

दुखेँ घाउसितै खाटाहरु बल्झिए
आज जिन्दगीका पाटाहरु बल्झिए

Sunday, February 20, 2011

कतातिर लागे शान्ती होला जिन्दगीमा

लौ न ! कति जंघार तर्नु खोला जिन्दगीमा
रित्तो होला जस्तो भयो झोला जिन्दगीमा

कयौ जुनी कयौ लोक पार गर्दै आज
बल्ल बल्ल पा’को यौटा चोला जिन्दगीमा

नहुने भो ओभानो खै पुर्जा इमानको
सबै बाटो हानिदै छ, लोला जिन्दगीमा

नाम्लो बोक्ने थाप्लोको नि, भए मुल्यवृद्धि
जोख्ने थिए मैले दुख तोला जिन्दगीमा

अबरोध छ अविरल चारैतिर बाटो
कतातिर लागे शान्ती होला जिन्दगीमा

घातले पिरोल्छ !

किन होला आजकल यहाँ रातले पिरोल्छ
आफ्नै अन्तरमनको तुच्छ बातले पिरोल्छ

पीड़ाबाट टाडा भई सुखी बन्ने चाहनाको
असहज बाटो यस्तो मातले पिरोल्छ

भाग्य कर्म आफै लेख्छु पराधिनता स्विकार्दिन
भन्ने मान्छे मलाई आफ्नै हातले पिरोल्छ

मैले मलाई आफैले नै चिन्न नसकेको होला
आफैबाट सिर्जीत यस्तो घातले पिरोल्छ !

Friday, February 04, 2011

त्यों रसले अर्कै रस , फेरे झनै राम्रो !!!

मान्छे यसै राम्री छड्के, हेरे झनै राम्रो !
कालो लामो केशमा रीवन, बेरे झनै राम्रो !
को होला खोई इन्को मनमा बस्ने मनको रजा ,
ओठको रातो लालीको रंग, फेरे झनै राम्रो !
गाजलु ति ठूला आँखा, घुम्न कस्तो सकेका हुन,
बाक्ला भ'का आँखीभौलाई , केरे झनै राम्रो !
बैश हेर्दा रसीलो छ , उमर कलकलाउदो ,
त्यों रसले अर्कै रस , फेरे झनै राम्रो !!!

Wednesday, February 02, 2011

गजलबारे

साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो । गजलको उद्गम स्थल अरबलाई मानिन्छ । अरबी भाषामा ग को अर्थ वाणी, ज को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो यसको एउटै उत्तर भेटिदैन तर पनि अर्थ भने प्राय सबैले एकै किसिमको गरेका छन् । गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी, स्त्रीको वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवना नारीको वर्णन गर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा गजलको अर्थ हुन्छ नारीका कुरा । केही विद्वानहरुको तर्किक मान्यता के छ भने गजल फारसी शब्द हो, जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत । वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्क प्राय सबै विद्वानहरुले राखेका छन ।

नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली शब्दकोशका अनुसार प्रेमका विषयमा शृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी वा त्यसै छन्दमा लेखिएको कविता नै गजल हो । उर्दू हिन्दी शब्दकोशका अनुसार प्रेमिकासँग कुराकानी भन्ने अर्थ दिएका छन् । धेरै विद्धानहरुले आफ्नै किसिमले गजलको परिभाषा दिएका भए पनि निष्कर्षमा गजल भनेको प्रेमलाई समेटेर निश्चित लय र तालमा लेखिने काव्य हो भन्ने बुझ्न् सकिन्छ ।

आज आएर गजल हामी सबैसँग भिजिसकेको विधा हो । वास्तवमा गजल कस्तो हुनुपर्दछ यसमा विद्वानहरुको आ—आफ्नै मान्यता भए पनि साझा मान्यताका रुपमा निम्नकुराहरु अगाडि सारेका छन् । गजल सुकोमल शब्द र ह्दयस्पर्शी भावहरुको अभिव्यक्ति हो । गजलमा थोरै शब्दबाट धेरै, सुक्ष्म तथा गहन विषयवस्तुको प्रस्तुतीकरण हुनु पर्दछ । गजलको एउटै शेर पनि गद्यविधाका कयौ आलेखहरु भन्दा प्रभावकारी हुनु नै यसको विशेषता हो । गजलमा श्रृतिकटु, अश्लिल, दुरुह, क्लिष्ट, अभद्र र अपमान तथा अनादारवाची शब्दहरु मान्य हुँदैनन् । गजलमा गाली पनि मिठो शब्दले गर्न जान्नु पर्दछ । गजल लयवद्ध हुनुपर्दछ र संगीत नै यसको विशेषता हो । प्रत्येक शेरहरु कलापक्षका दृष्टिले पूर्णत स्वतन्त्र र स्वायत्त हुन्छन् साथै गजलमा शिर्षक हुनु हुँदैन शिर्षक राखिन्छ भने त्यो कविता या गीत मात्र बन्दछ गजल हुन सक्दैन । शब्दको कोमलता र अर्थको रोचकतापूर्ण प्रवणशीलता तथा विचित्रता गजलका विशेषता हुन ।

गजल हुनलाई अति आवस्कीय कुराहरु के के हुन त ? यदि हामी गजल लेख्न चाहन्छौ भने यी कुराहरु पनि हामीले जान्नै पर्ने हुन्छ आउनुहोस यस विषयमा चर्चा गरौ । गजल हुनलाई चाहिने मुलभुत तत्वहरु निम्न छन् ।

१ शेर

गजलमा शेर एक प्रमुख तत्व मानिन्छ गजल भन्नु नै शेरहरुको समष्टि रुप हो । गजल एउटा माला हो भने शेर त्यसमा उनीएका थुङ्गाहरु हुन् । एक शेरमा दुई पङ्क्ती हुन्छन् । शेरको पहिलो पङ्क्तीलाई मिसरा ए उला र दोश्रो पङ्क्तिलाई मिसरा ए सानी भनिन्छ । शेरको एउटा मिसरामा कम्तीमा पनि छ अक्षर हुनै पर्दछ । त्यसमा दुई रुक्न अनिवार्य मानिन्छ सबैभन्दा सानो रुक्न तीन अक्षरको हुन्छ । हरेक शेरको मिसरा ए उलाले कुनै पनि विषयको उठान गर्दछ र मिसरा ए सानीले त्यसलाई पुष्टि गर्नु पर्दछ । गजलहरु प्रायः पाँच शेरका हुन्छन तर चार देखि ते¥ह शेर सम्म लेखिएका गजलहरु पनि यदाकदा पाईन्छन् । विषयवस्तुका दृष्टिले हरेक शेरहरु स्वतन्त्र भए पनि एउटै बहरमा लेखिएको भने हुनुपर्दछ । एउटा शेरमा एउटा अनुभुतिको सम्पूर्ण अभिव्यक्ति हुनुपर्दछ यदि एउटा शेरमा अभिव्यक्त हुन नसकेर बाँकी अंश अर्को शेरमा आउँछ भने त्यसलाई गजल मान्न सकिदैन । विषय वस्तु प्रस्तुतीका दृष्टिले गजल मुलत दुई प्रकारका हुन्छन् ।



(क) मुसलसल गजल ः एउटा गजलका सम्पूर्ण शेरहरुमा एउटै विषयवस्तु प्रस्तुती भएको छ भने त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ । जस्तै ः


इ सानै उमेर देखि मन् हर्न लागे,

इनै सुन्दरीले जुलुम् गर्न लागे ।

कहाँसम्मको आँट लौ हेर तिन्को,

रिसाएर आँखा पनि तर्न लागे ।

एकैपल्ट आँखा घुमाई दिनाले,

कती मर्न लागे कती डर्न लागे ।

सुनिस् मन् मुनियाँ बडा होस राखेस्,

बिछाएर जाल् कागुनो छर्न लागे ।

बिराना र आफ्ना नराम्रा र राम्रा,

सबै सुन्दरीका अघि सर्न लागे ।

अघि पर्न सक्दीनँ मैले हरीका,

नजर्देखि मोति पनि झर्न लागे ।

बहरे मुतकारिब मुसम्मन सालिम

मोतिराम भट्टद्वारा रचित यो गजलका सबै शेरहरुले एक सुन्दरीका बारेमा वर्णन गरेका हुँदा यो मुसलसल गजल हो ।
(ख) गैरमुसलसल गजलः एउटा गजलका शेरहरुले विविध विषयवस्तुलाई समेटेका छन् भने यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ । जस्तै ः

प्रेयसीको पत्र आयो विरहकै भारी देखें ।

फर्किएर देश हेरे झनै हाहाकारी देखें ।

सत्य कुरा नस्वीकार्ने समाजका अगुवा रे,

मुख भित्र रामराम वगलीमा आरी देखें ।

हनुमानका गुणहरु युद्धसँगै हराएछन्,

राज गर्दै ढेडुहरु लंका वारिपारि देखें ।

पाडो पाडी जे पावस भतुवालाई विगौति हो,

मालिक सामु कुकुर भन्दा मान्छे वफादारी देखें ।

चंगुलमा कविलाई चक्र जस्तै घुमाउने,

स्वार्थीको यो दुनियाँमा सा¥है मारामारी देखें ।

कविजी
यो गजलका प्रत्येक शेरहरुले भिन्ना भिन्नै विषयवस्तु बारे बोलेका छन् । त्यसैले यो गैर मुसलसल गजल हो ।

२. काफिया

काफिया पनि अरबी शब्द हो यसको अर्थ हुन्छ बारम्बार आउने र गजलमा सबैभन्दा महत्वपूर्ण पनि यहि काफिया नै मानिन्छ । तुक मिलेको शब्द, शब्दांश या अक्षर नै काफिया हो यो रदिफ भन्दा ठिक अगाडि आउँछ । शेरहरुमा काफियाको पुनरावृति नहुनै राम्रो मानिन्छ । काफिया बिना गजलै बन्दैन तर काफिया मिल्दैमा पनि गजल हुँदैन । काफियामा स्वर मात्रको समानता हुनु पर्दछ । काफिया अनुप्रासयुक्त हुनु पर्दछ अथवा तुक नमिलेको शब्द, शब्दांश वा अक्षरलाई काफिया बनाउनु हुँदैन । संरचनाका आधारमा काफियाहरु चार प्रकारका हुन्छन् ।

(क) पूर्णशब्द काफियाः– सिङ्गा शब्द नै काफियाका रुपमा प्रयोग भएका छन् भने त्यस्ता काफियालाई पूर्ण शब्द काफिया भनिन्छ जस्तैः हुने, रुने, धुने, छुने ÷खात, भात, पात, हात, रात ÷खानी, रानी, पानी, नानी आदि । जस्तैः

हामी आ’को देश नयाँ शहर नयाँ नयाँ ।

उस्तै छ घरको याद रहर नयाँ नयाँ ।
गजलकार ज्ञानेन्द्र बेखर्चीद्वारा लिखित गजलको यो शेरमा प्रयोग भएका काफिया शहर र रहर पूर्णशब्द काफिया हुन् ।

(ख) शब्दांश काफियाः– शब्द भित्रको एक अंश मात्र काफियाका रुपमा प्रयोग भएको छ भने यस्तो काफियालाई शब्दांश काफिया भनिन्छ जस्तै ः पहिचान, प्रस्थान, अनुमान, बलिदान, अवसान ÷चहकिहलो, पोषिलो, पेचिलो, आँटिलो, मलिलो ÷मायालु, दुधालु, बैसालुृ, मैतालु, कृपालु, विषालु, खर्चालु आदि । जस्तै ः

जून निभेको आकाश कति नरमाइलो ।

हरसमय सन्त्रास कति नरमाइलो ।

गजलकार डा. घनश्याम परिश्रमिद्वारा लिखित गजलको यो शेरमा प्रयोग भएका शब्द आकाश र सन्त्रासमा उपन्यासको काश र सन्त्रासको त्रास मात्र काफियाका रुपमा प्रयोग भएको हँदा यी काफिया शब्दांश काफिया हुन ।
(ग) एकाक्षरी काफियाः– एक अक्षरमात्र कफियाका रुपमा प्रयोग भएको छ भने यस्तो काफियालाई एकाक्षरी काफिया भनिन्छ । जस्तैः हो, यो, सन्चो, कस्तो, मिठो, लामो, जाडो, कालो ÷ जिन्दगी, खुसी, नदी, औषधी, सही, परी, बढी ÷मजा, सिधा, कृपा, निशा, कला, सुरा, कथा, पिता आदि । जस्तैः

व्यथै व्यथा छ मनभरि खुसी खोजुँ कतातिर ।

साउन भदौ छ गहभरि नदी खोजुँ कतातिर ।

गजलकार रवि प्राञ्चलद्वारा लिखित गजलको प्रस्तुत शेरमा खुसी को सी र नदी को दी काफियाका रुपमा प्रयोग गरिएको छ ।

(घ) मिलित काफियाः– समस्वरात्मक दुईवटा फरक शब्द वा तिनका अंश मिलेर बन्ने काफियालाई मिलित काफिया भनिन्छ । जस्तैः ÷ भन्छ, वन छ, पन छ, गन्छ, आसन छ, खन्छ÷जगत, मन त, फगत, रगत, अब त÷कुन, हुन, आउ न, गर्छु न, रुन आदि । जस्तै ः

घामको लाली घोलेर रातो छ त नी छन त ।

रातको छायाँ परेर हो की अँध्यारो जगत ।

गजलकार बुँद रानाद्वारा लिखित यो गजलमा छन त दुई शब्द र जगत एकै शब्दको संयोजन गरेर प्रयोग गरिएको छ त्यसैले यो मिलित काफिया अन्तर्गत पर्दछ ।

नोटः– स्वरुपका आधारमा काफियाहरु चार प्रकारका भए पनि प्रयोगका आधारमा भने पाँच प्रकारका हुन्छन् । एउटै गजलका शेरहरुका पूर्णशब्द काफिया र शब्दांश काफिया मिश्रित रुपमा प्रयोग भएको छ भने यस्तो काफिया प्रयोग भएका गजललाई मिश्रित काफिया युक्त गजल भनिन्छ । जस्तै ः पानी, जवानी, कहानी, दानी, सानी, सिरानी÷खण्डहर, घर, नजर, खबर, निर्झर, भर, कर ÷गाउँ, बताउँ, सुनाउँ, ठाउँ, साउँ आदि । जस्तै ः


तिमी रुदा धेरै पल्ट चाँदनी त्यो रात रोयो ।

वियोगको सन्तापमा, हामी वीचको आघात रोयो ।


गजलकार पुष्प अधिकारी अञ्जलिद्वारा लिखित गजलका यी शेरमा प्रयोग भएको काफिया मध्ये रात पुरै शब्द र आघातको आशिक घात मात्र काफियाका रुपमा प्रयोग भएको हुँदा उक्त गजलमा मिश्रित काफिया युक्त गजल हो ।


३. रदिफ

यो पनि अरबी शब्द हो यसको अर्थ अनुगामी हुन्छ । मतलाका दुवै मिसरा र अन्य शेरहरुका मिसरा ए सानीको अन्तमा प्रयोग हुने उही पद वा पदावलीलाई रदिफ भनिन्छ । रदिफ कम्तीमा एक शब्द देखि तीन शब्दसम्मको हुनु शास्त्रीय दृष्टिले उचित मानिन्छ । रदिफ काफियाको ठिक पछाडि प्रयोग हुन्छ तर यो गजलको अनिवार्य तत्व भने मानिदैन् । यसको प्रयोगले गजलको सौन्दर्य प्रसानमा महत्वपूर्ण भूमिका खेल्ने र गायनमा श्रुतिमधुरता समेत थपिने हुनाले अधिकांश गजलकारहरु यसलाई त्याग्न सक्दैनन् । शब्द प्रयोगका आधारमा रदिफहरु चार प्रकारका हुन्छन ः

(क) एकल रदिफः– कुनै पनि गजलका शेरहरुमा एउटा मात्र शब्द रदिफका रुपमा प्रयोग भएको छ भने यस्तो रदिफलाई एकल रदिफ भनिन्छ । जस्तै ः

म नेपाली गर्व गर्छु आगोसँग खेल्न सक्छु ।

यस्तो नाथे मरुभूमि हत्केलाले ठेल्न सक्छु ।

गजलकार बद्री प्रसाद पराजुलीद्वारा लिखित गजलको यो शेरमा सक्छु भन्ने एउटा मात्र रदिफ प्रयोग भएको हँुदा यो एकल रदिफयुक्त गजल हो ।

(ख) बहुल रदिफः– कुनै पनि गजलका शेरहरुमा यदि दुई या दुई भन्दा बढी शब्दहरु प्रयोग भएका छन् भने यस्तो रदिफलाई बहुल रदिफ भनिन्छ । जस्तै ः


आफैलाई थाहा छैन कस्तो कस्तो छु म ।

मरेपछि शालिक बन्छ ऐले सा¥है सस्तो छु म ।


गजलकार दुर्गा भुषालले लेखेको यो गजलमा दुईवटा रदिफ छु र म प्रयोग भएको छ ।

त्यस्तै अर्को एक गजल ः


तिम्रो चुरा फुट्ने बेला चिता माथि हाँस्दै थिएँ ।

नियतिले चुट्ने बेला चिता माथि हाँस्दै थिएँ ।


गजलकार बासुदेव अन्जानले लेखेको यो गजलमा चारवटा रदिफ बेला, चिता, माथि, हाँस्दै र थिएँ प्रयोग भएको छ त्यसैले यी बहुल रदिफ प्रयोग भएका गजल हो ।

रदिफको प्रयोगका आधारमा गजल दुई प्रकारका हुन्छनः

(क) मुद्दरफ गजल ः– जुन गजलमा रदिफको प्रयोग भएको छ त्यो गजललाई मुद्दरफ गजल भनिन्छ । जस्तै ः


अन्धकारमा सँधै दियोको महत्व ।

राष्ट्रिय खेल डन्डीवियोको महत्व ।

भोजराज श्रेष्ठ एकलव्यराजले लेखेको यो गजलमा महत्व भन्ने रदिफ प्रयोग भएको छ ।

(ख) गैरमुद्दरफ गजलः– जुन गजलमा रदिफको प्रयोग भएको हुँदैन त्यस्तो गजललाई गैर मुद्दरफ गजल भनिन्छ । जस्तैः


विद्रोहको राँको बोकी तिमी अघि बढ्नुपर्छ ।

बुर्जुवा यो समाजसँग आगो बनी लड्नुपर्छ ।


इखालु रमेशद्वारा लिखित यो गजलमा रदिफको प्रयोग भएको छैन ।



४. मतला

यो पनि अरबी शब्द हो मतलाको अर्थ हुन्छ प्रारम्भ । गजलको पहिलो शेरलाई मतला भनिन्छ यसका दुवै मिसरामा काफिया र रदिफको प्रयोग हुन्छ । जस्तै ः



यो साल यस्तै भयो अर्काे साल आउँछु नानु ।

केही दिन भए पनि मैले छुट्टी पाउँछु नानु ।
(हरि नेपाली विवश)




नदीको वीचमा छाड्यौ मलाई न वार न त पार दियौ ।

जितेनौ तिमीले पनि साथी व्यर्थै मलाई हार दियौ ।

(विक्रम चेतनशील राई)


५. मक्ता

गजलको अन्तिम शेरालाई मक्ता भनिन्छ यो पनि अरबी शब्द हो । यस शब्दले समाप्ति वा काटीएको भन्ने अर्थ बुझाउँछ । यसलाई आखिरी शेर पनि भनिन्छ । नेपालीमा यसलाई अन्तिम शेर नाम दिईएको छ ।

६. तखल्लुस

तखल्लुस भनेको कविको छोटो नाम वा उपनाम हो । गजल सिद्धान्तका केही व्याख्याताहरुले तखल्लुस प्रयोग नभएको शेरलाई मक्ता भन्न मिल्दैन पनि भनेका छन तर यो भनाइ युक्तिसंगत छैन् । गजलमा गजलकारले तखल्लुस प्रयोग गर्न पनि सक्छ नगर्न पनि सक्छ । तखल्लुस प्रयोग भएको मक्ताको यो शेर ः


अहो कस्तरी छाती छल्क्यो हरिको ।

जसै मोति माला झुलाएर आए ।

(मोतिराम भट्ट)

७. बहर

बहर गजलको सर्वोच्च अनुशासन हो । बहर भनेको छन्द हो । कुनै न कुनै छन्दमा बन्धित हुनु गजलको शास्त्रिय मान्यता हो । संस्कृत वाङ्मयमा अनेकानेक वार्णिक र मात्रिक पिङ्गल छन्दहरु भए झै इस्लामिक काव्यशास्त्रमा पनि वर्णमात्रामा आधारित अनेक शास्त्रिय बहरहरु छन् । गजल लेखनमा केही नेपाली शैलीका लयहरु पनि निकै प्रचलनमा आएका छन् । यस्ता बहरहरु उच्चार्थ अक्षरमा आधारित हुन्छन् । वास्तवमा लययुक्त उच्चार्थ अक्षरको एक रुपता आफैमा एक प्रकारको छन्द हो तर अक्षरको संख्या भने एउटै हुनु पर्दछ र नै सुन्दर लयको सृजना हुन्छ भन्ने केही विद्वानहरुको मान्यता छ भने कसै कसैले लय मिल्नु पर्छ मात्रा नै सबैथोक हैन भन्ने पनि गरेको पाईन्छ । जस्तै ः


च्यातिएर धुजाधुजा भएको छ जिन्दगी ।

बेठेगान कताकता बगेको छ जिन्दगी ।


गजलकार ललिजन रावलद्वारा लिखित गजलको यो शेरमा १५ अक्षर छन् ।


खाने र तोड्ने कसम अनौठो ।

कसलाई लाग्छ यो कम अनौठो ।


रमेश हरिलठ्ठकद्वारा लिखित गजलको यो शेरमा ११÷११ अक्षर छन् ।

अब आउनुहोस गजलका गुण र दोषहरुका बारेमा छोटकरीमा चर्चा गरौ ।

स्पष्टताः गजलको शेरमा जुन भाव वा विचार अभिव्यक्त गरिएको हुन्छ त्यो स्पष्ट हुन पर्दछ । गजलमा अर्थ या भावलाइ असर गर्ने र अभिव्यक्ति गर्न असजिलो लाग्ने शब्दहरु प्रयोग गर्न हुँदैन ।

पौढता ः गजलका शेरहरु विचार र भावले परिपक्क हुनु पर्दछ ।

अर्थपूर्णताः गजलका शेरहरु अर्थपूर्ण हुनु पर्दछ अर्थ पूर्ण नभएको गजल राम्रो मानिदैन ।

अन्योन्याश्रिता ः गजलको पहिलो मिसराले जुन विषयवस्तुको उपस्थान गर्दछ त्यसलाई प्रमाणित वा पुष्टि गर्ने काम दोश्रो मिसराले गर्नु पर्दछ ।

गेयात्मकता ः गेयता गजलको पहिलो सर्त हो । गेयगुण विनाको गजल प्राण बिनाको शरीर जस्तै हो । गजलकारले गजल लेख्नु पूर्व कुनै न कुनै लयलाई आत्मसात गर्न र त्यही लयमा गुनगुनाउँदै गजल रचना गर्न आवश्यक हुन्छ ।

व्याख्यात्मकता ः गजल थोरैमा धेरै भनिने विधा हो । गजलका शेरहरुमाका थोरै भन्दा थोरै शब्दहरुले धेरै भन्दा धेरै कुराहर भन्न सक्नु पर्दछ । उखान टुक्काको समुचित प्रयोग, प्रतिक र विम्बहरुको प्रयोग प्रतिकात्मकता साथै सुकोमल र ह्दयस्पर्शी शब्दहरु र भावले सजिएको गजललाई राम्रो मान्ने गरिन्छ । यी असल गजलका गुणहरु हुन । गजलमा अष्पस्टता हुनु हुँदैन । भन्न खोजेको कुरा पुरा भएन भने त्यो राम्रो गजलमा पर्दैन । गजलका शेरहरु सरल र सहजबोध्य हुनु पर्छ बुझ्न नसकिने खालको भावले गजलको मर्मलाई प्रभाव पार्ने हुँदा यस्तो दुरुहता हुनेखालको हुनुहुँदैन । गजलका शेरहरु अपूर्ण हुनु हुँदैन भन्न खोजेको कुरा पूर्ण हुनु पर्दछ । गजलको शेरमा प्रयोग हुने शब्दहरुलाई व्याकरण विरुद्ध तोडमोड गरिनु हुन्न । गजलको शेरमा असभ्य, अश्लील, नग्नतापूर्ण, कामुक, गुप्ताङ्ग र तिनको कार्यसम्बन्धी अशिक्षित समुदायले गर्ने कथ्य शब्दहरुको प्रयोग गर्नु हुँदैन । गजलको शेरमा आवश्यक भन्दा बढी शब्दहरु प्रयोग भएमा तथा शब्दको अभाव महशुस भएमा विक्षेप नामको दोष उत्पन्न हुन्छ । गजलका शेरहरुमा कोमल शब्दहरुको प्रयोग हुनुपर्दछ श्रुतिकटु र अर्थका दृष्टिले समेत जटिल शब्दहरुको प्रयोग गर्नु हुँदैन । साथै अनादरवाची शब्दहरुको पनि प्रयोग गर्नु हुँदैन ।

र अन्त्यमा..................................................

गजल अहिले साहित्यमा सबभन्दा लोकप्रिय विधाका रुपमा चिनिन्छ नेपाली साहित्य आकाशमा गजल भित्राउने श्रेय मोतिराम भट्टलाई जान्छ । गजलको परम्परागत मान्यता अनुसार श्रृगारिक रसमा प्रेम र प्रेमिकाको वर्णन वा नारी जाति सँग सम्बन्धित विषयवस्तुलाई समेटेर त्यसबेला गजल लेखिने गर्थे चाहे त्यो “दुई आँखि भौ त गयार छन तरवार पो किन चाहियो” हो स वा “यिनै सुन्दरीले मन हर्न लागे” भन्ने गजल होस नारी जाति कै वरिपरि घुमेको पाईन्छ । गजल गेय विधा भएको कारणले हुन सक्छ त्यसबेला त्यति लोकप्रिय हुन सकेन र विस्तारै सुस्ताउँदै गयो । मोतिराम पछि गजलै भनेर कसैले लेखेको तथा प्रकाशन गरेको केही बाहेक खासै पाईदैन र लामै समय सम्म सुस्ताई रह्यो । लामो समयको अन्तराल पछि परम्परागत श्रृगारिक धारालाई तोड्दै आधुनिक गजल लिएर देखा परे ज्ञानुवाकर पौडेल । ज्ञानुवाकर सँगसँगै यहि यात्रामा देखा परे मनु ब्राजाकी, ललीजन रावल, कृष्णहरि बराल, घनश्याम परिश्रमि, बुँद राना लगायतका गजल हस्तीहरु, यहि यात्रालाई अंगालेर तपाई हामी पनि हिड्दैछौ । अहिले हामी २१ औं शताब्दिको मध्यतिर छौ अबका गजलहरु जो कसैको फुस्रो वर्णनमा सिमित बन्नु हुँदैन । अब लेखिने गजलमा देश बोल्नुपर्छ, समाज बोल्नुपर्छ । अबका गजलले परिवर्तनको शंखघोष गर्नु पर्छ । अन्याय विरुद्ध ढाल बनेर निस्कनुपर्छ, विकृति विसंगतिको भण्डाफोर गर्नु पर्छ । गरिब र दुःखिका आवाज ओकल्नु पर्छ अबका गजलले । राष्ट्रियता र मानवताका गजलहरु आउनुपर्छ अब । गजलमा सम्पूर्ण जिन्दगी देखिदै गजलका शेरहरु भित्र तपाई र म पनि देखियौ भने त्यो गजल दुरगामी बन्ला र हामी पनि असली गजलकार बन्न सकिएला नत्र त्यत्तिकै ।

enjoy

enjoy
Powered By Blogger

ENJOY